AK Learning Nepal

  Thursday 16 October 2025 / 01:43 PM
   |   
Posted in

घरकाे माया – Ghar ko Maya – Class 10 Nepali Chapter 14 Exercise (2082)

घरकाे माया 

पाठ १४ 

शब्दभण्डार 

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

शब्द                    अर्थ
सखारै :               सबेरै बिहानै
बुजो :                  मुखमा टम्म राख्ने काम, बिर्को
गरम :                  तातो, गर्मी
आली :                खेतको सिमाना छुट्याउन वा पानी अडिने बनाउन चारैतिर केही
                            उठाइएको माटाको डिल
सामल :               बाटाका लागि बोकेको खाद्यवस्तु, बाटाखर्च
हंस :                    प्राण 

२. ‘घरको माया’ एकाङ्कीमा गाउँघरमा मेलापात गर्दा प्रयोग गरिने शब्द प्रयोग भएका छन् । त्यस्ता शब्दको सूची बनाई वाक्यमा प्रयोग गर्नुहोस् ।

उत्तर : ‘घरको माया’ एकाङ्कीमा प्रयोग भएका गाउँघरमा मेलापात गर्दा प्रयोग गरिने शब्द :- रोपार, लाठे, बाउसे, भारी, रोपाइँ, खेतीपाती, भकारो

रोपार : मलाई रोपार भएर खेतमा धान रोप्न जान मन पर्छ।
लाठे : रोपाइँमा लाठेले राम्ररी कोदाली खन्ने काम गरिरहेको थियो ।
बाउसे : बाउसेले खेतमा राम्ररी आली लगायो ।
भारी : बिउको भारी बोकेर राम हिलोमा चिप्लेर लडेछ ।
रोपाइँ : साइँली र माइली गीत गाउँदै रोपाइँमा लागिरहेका छन् ।
खेतीपाती : नेपालीहरूको मुख्य पेशा खेतीपाती नै हो ।
भकारो : टिकटक चलाउने मेरी बहिनी भकारो सोर्न घिनाउँछिन् ।

३. दिइएका शब्दका विपरीत शब्द ‘घरको माया’ एकाङ्कीबाट खोजेर लेखुहोस् :
वर : पर
पछाडि : अगाडि
होची : अग्ली
उता : यता
विपना : सपना
उँभो : उँधो
तातो : चिसो
बस : उठ
टाढै : नजिकै 

४. ‘घरको माया’ एकाङ्कीबाट पाँचओटा टुक्का र पाँचओटा अनुकरणात्मक शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस् ।

– टुक्का र वाक्यमा प्रयोग :-
दिन छिप्पनु : अचेलका केटाकेटी दिन छिप्पदासम्म पनि मोबाइल चलाइरहन्छन् ।
आँत सुक्नु : गर्मीले गर्दा जति पानी खाए पनि मेरो आँत सुकेको सुक्यै छ ।
गर्मी खानु : नेपालगन्ज तिरका मानिसले धेरै गर्मी खाएका छन् ।
पसिना बहाउनु : विदेशमा पसिना बहाएर केही हुँदैन ।
बिजुली हुनु : रमेशको भाइ चोर्नमा एकदमै बिजुली छ ।

अनुकरणात्मक शब्द र वाक्यमा प्रयोग :-
पिच्चपिच्च : बाटोभरी पिच्चपिच्च थुक्दै हिड्नु राम्रो होइन ।
मुसुमुसु : मेरो कुरा सुनेर सविना मुसुमुसु हाँसिन् ।
प्याकप्याक्तीः खान नपाएर रमन तीन दिनदेखि प्याकप्याक्ती परेको रहेछ ।
किक्लिक्क : अररो खाना खाँदा महेश किक्लिक्क गर्न थाल्यो ।
करमकरम : काँक्रोको चिरो साथीले करमकरम चपायो ।  

बोध र अभिव्यक्ति

२. ‘घरको माया’ एकाङ्कीमा बसिरा’ख्या, भ’को जस्ता कथ्य स्वरूपका शब्द प्रयोग भएका छन्, यस्ता अन्य १० ओटा शब्द खोजी तिनको लेख्य स्वरूप लेखुहोस् ।

हयाँ – यहाँ
भ’को – भएको
खा’र – खाएर
सुतिरा’को – सुतिरहेको
निसास्या – निस्सासिएको
भा’को – भएको
भे’र – भएर
नभे – नभए
आ’छु – आएछु
बगराँ – बगरमा

४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) ‘घरको माया’ एकाङ्कीको सुरु र अन्त्य कुन कुन घटनाबाट भएको छ ?
उत्तर : ‘घरको माया’ एकाङ्कीको सुरु प्लेटफर्मको दृश्य र हेर्न सुन्न गाउँमा भए नपाइने लालबहादुरको भनाइबाट र अन्त्य लालबहादुर एक्लै भएपछि म पनि आएँ भन्दै घर फर्किएको घटनाबाट भएको छ ।

(ख) एकाङ्कीका मुख्य र सहायक पात्र को को हुन् ?
उत्तर : एकाङ्कीका मुख्य पात्र लालबहादुर, जमानसिंह र बतासे तथा सहायक पात्र कान्छो हुन् ।

(ग) एकाङ्कीमा सबैभन्दा बढी पटक संवाद गर्ने पात्र को हो ?
उत्तर : एकाङ्कीकमा सबैभन्दा बढी पटक संवाद गर्ने पात्र जमानसिंह हो ।

(घ) जमानसिंहमा आन्तरिक द्वन्द्व बढ्नाको कारण के थियो ?
उत्तर : बतासे र गाउँको मायाले जमानसिंहमा आन्तरिक द्वन्द्व बढेको थियो ।

५. दिइएको एकाङ्कीको अंश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) माथिको भनाइ एकाङ्कीमा कुन पात्रले भनेको हो ?
उत्तर : माथिको भनाइ एकाङ्कीमा बतासे पात्रले भनेको हो ।

(ख) वक्ताले व्यक्त गरेका देशभक्तिको भावना झल्काउने दुई भनाइ लेख्नुहोस् ।
उत्तर : वक्ताले व्यक्त गरेका देशभक्तिको भावना झल्काउने दुई भनाइ :- एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला । मर्नु परे पनि बरु आफ्नै देशमा मरौंला ।

(ग) ‘आफ्ना पुर्खाको धर्म थामौं भन्नुको आशय के हो ?
उत्तर : ‘आफ्ना पुर्खाको धर्म थामाँ’ भन्नुको आशय हाम्रा पुखाले देशमै रहेर देशकै लागि काम गरे, हामीले पनि त्यसै गर्नुपर्छ भन्ने हो । 

(घ ) एकाङ्कीको अंशको मुख्य भावसँग तपाइँ सहमत हुनुका कारण उल्लेख गर्नुहोस् ।
उत्तर : एकाङ्कीको अंशको मुख्य भावले स्वदेशमै बसेर स्वदेशको उन्नतिका लागि काम गर्न प्रोत्साहित गरेको छ । तसर्थ देशभक्तिको भावनाले गर्दा एकाङ्कीको अंशको मुख्य भावसँग सहमत भइएको हो ।

६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) ‘घरको माया’ एकाङ्कीमा नेपाली समाजको कस्ता विषयवस्तु देखाइएको छ ? वर्णन गर्नुहोस् ।
उत्तर : ‘घरको माया’ एकाङ्की सामाजिक विषयवस्तुमा आधारित राष्ट्रप्रेमका भाव अभिव्यक्त गरिएको उत्कृष्ट एकाङ्की हो । विदेश जाने धेरै धन कमाउने र सुखको जीवन व्यतीत गर्ने आम नेपालीको चाहनालाई एकाङ्कीमा देखाइएको छ । तत्कालीन समयमा भारतमा गएर काम गर्ने प्रवृत्तिलाई एकाङ्कीले मुख्य विषयवस्तु बनाएको छ । सुखको आशमा विदेश गएर दुःख पाएका केही नेपालीलाई जम्मा पारेर विदेशमा दुःख गरेर, हेला भएर र तल्लो दर्जाको नागरिक भएर बाँच्नुभन्दा त स्वदेशमै मिहिनेत गरेर स्वदेशकै लागि काम गर्नु राम्रो हुने राष्ट्रप्रेम झल्कने हाम्रो समाजको गहन विषयवस्तु र समस्यामा यो एकाङ्की केन्द्रित रहेको छ ।

(ख) जमान र लालमा पाइने चारित्रिक विशेषताको तुलना गर्नुहोस् ।
उत्तर : ‘घरको माया’ एकाङ्कीमा जमानसिंह र लालबहादुर मुख्य पात्रका रुपमा रहेका छन् । यी दुई पात्र मितका रूपमा रहेका हुन्छन् । दुबै पात्रको भूमिका एकाङ्कीमा निकै महत्त्वपूर्ण रहेको छ । दुबै पात्र नेपालको पहाडी ग्रामीण क्षेत्रबाट धेरै धन कमाएर सुख पाउने आशामा विदेश गएका हुन्छन् । भारतको दरभङ्गामा पुगेर उनीहरू कुल्ली काम गरेर जीवन व्यतीत गरिरहेका हुन्छन् । जमान र लाल दुबैको उद्देश्य धन कमाएर सुखको जीवन बिताउने भए पनि चारित्रिक विशेषता भने फरक रहेको छ । लाल कुनै पनि हालतमा गाउँ फर्कन चाहँदैन । सपनामा समेत गाउँ देख्नु नपरोस् भन्ने उसको चाहना देखिन्छ । आफ्नो जन्मभूमिलाई ऊ हेलाका भावले हेर्छ । गाउँको आफ्नो कामभन्दा उसलाई विदेशको नोकरी नै राम्रो लाग्छ । कान्छो, बतासे, जमानसिंह स्वदेश फर्कने टुङ्गोमा पुग्दासम्म पनि ऊ आफूलाई सुन सम्झेर विदेशमै बस्ने निर्णयमा पुग्छ । जमानसिंह भने मनमा स्वदेशको माया रहेको पात्र हो । उसलाई विदेशको गर्मी र दुःखभन्दा आफ्नै गाउँघर रमाइलो लाग्छ । बतासेले उसमा रहेको राष्ट्रप्रेमलाई जागृत गराएपछि ऊ बतासेसँगै फर्कन तयार हुन्छ र मितलाई पनि फर्कन आग्रह गर्छ । अन्त्यमा एक्लै भएपछि भने लालको मन पनि परिवर्तन हुन्छ र स्वदेश फर्कन्छ ।

जमान सरल, देशभक्तिको भावना भएको पात्र हो भने लाल हठी, सम्पत्तिलाई अत्यधिक महत्त्व दिने र परिवर्तनशील पात्रका रूपमा रहेको छ ।

(ग) एकाङ्कीमा कुन कुन ठाउँको परिवेश देखाइएको छ ? लेख्नुहोस् ।
उत्तर : एकाङ्कीमा मूलतः विदेशी भूमिको परिवेश देखाइएको छ । संवादका क्रममा भने नेपालको पहाडी क्षेत्रका विभिन्न ठाउँको परिवेशसमेत चर्चा गरिएको छ । भारतको बिहार राज्यमा पर्ने दरभङ्गालाई यस एकाङ्कीमा मूल परिवेश बनाइएको छ । दरभङ्गामा रहेको प्लेटफर्म र त्यसकै आसपासको दृश्यात्मक परिवेश यस एकाङ्कीमा देखाइएको छ ।

(घ) ‘घरको माया’ एकाङ्कीबाट के सन्देश पाइन्छ ?
उत्तर : ‘घरको माया’ एकाङ्कीमा एकाङ्कीकार भीमनिधि तिवारी (वि.सं. १९६८-२०३०) ले देशभक्तिको भावना अभिव्यक्त गरेका छन् । बतासे पात्रका माध्यमबाट एकाङ्कीमा जमानसिंह र लालबहादुरको स्वदेश नफर्किने र विदेशमै कमाएर उतै मर्ने इच्छालाई परिवर्तन गराई आफ्नै गाउँ र ठाउँको ममता जागृत गराइएको छ । आफ्नै माटोमा पसिना बगाएर आफ्नै माटोमा उब्जाउनुपर्छ । खानका लागि नोकरी गर्नु परे आफ्नै दाजुभाइको गर्नुपर्छ । विदेशमा कमारो भएर हेलामा बस्नुभन्दा आफ्नै भुइँमा लम्पसार पर्नुपर्छ । । बाबुबाजेले अन्तिम साससम्म स्वदेशकै लागि काम गरे । स्वदेशमै बिताए । हामीले पनि स्वदेशकै लागि केही गर्नुपर्छ, स्वदेशकै लागि मर्नुपर्छ । आफ्नै देशलाई हामीले हराभरा, सुन्दर र विकसित बनाउनुपर्छ भन्ने सन्देश यस एकाङ्कीबाट पाइन्छ ।

७. दिएका भनाइका वक्ता को को हुन् ? ‘घरको माया’ एकाङ्कीका आधारमा लेख्नुहोस् :

(क) म त सम्झन्न गाउँघर पनि, के सम्झनु छ र ।

– लालबहादुर

(ख) पँधेरामा जाँदा दुवै कर्के आँखाले हेराहेर गथ्यौं ।

– जमानसिं

(ग) म त भोकले भुतुक्क भा’को छु । दुई दिन भो क्यै खान नपाएको ।

– कान्छो

(घ) यहाँ आइपुगेर त हामी दुवैलाई यसै छाडेर कहाँ भाग्यो कहाँ ।

– बतासे

(ङ) रोपाइँको रमाइलाले मलाई बिर्सिहाल्लान् ।

– लालबहादुर

(च) जाऊँ है त मितज्यू, फेरि आइयो भने भेटौँला नि ।

– जमानसिंह

(छ) आफ्नो गाउँमा त भकारोकै छेउमा गुन्द्री हालेर सुत्ता पनि गनाउँदैनथ्यो ।

– बतासे

(ज) उहाँ आमा कति रुँदी हुन् बालक छोरो, कहाँ गयो, के भयो भनेर ।

– जमानसिंह

८. व्याख्या गर्नुहोस् :

(क) चुम्बकले फलामलाई तान्छ तर सुनलाई खिच्न सक्तैन ।
उत्तर : प्रस्तुत भनाइ ‘ घरको माया’ एकाङ्कीबाट साभार गरिएको हो । यस एकाङ्कीका रचनाकार भीमनिधि तिवारी (वि.सं. १९६८ – २०३०) हुन् । तिवारी नेपाली साहित्यका फाँटमा कवि, नाटककार, कथाकार, गजलकार, प्रबन्धकार तथा उपन्यासकारका रुपमा चिरपरिचित छन् । सामाजिक नैतिकतामा बल पुयाउने खालका विषयवस्तु चयन गर्ने तिवारीका नाटकहरूमा आदर्श र यथार्थको समिश्रणमार्फत पाठकलाई सर्चेत बन्न प्रेरित गरिएको हुन्छ । माथिको एकाङ्कीको अंश पात्र लालबहादुरले जमानलाई जबाफ दिने क्रममा आएको भनाइ हो 

विदेशी भूमिको चर्को गर्मीमा तल्लो दर्जाको काम गर्नुभन्दा स्वदेशमै गएर स्वदेशको लागि काम गर्नु राम्रो हुने बतासेको राष्ट्रप्रेम झल्किने भनाइबाट प्रभावित भएर जमानसिंह स्वदेश फर्कन राजी हुन्छ । ऊ आफ्नो मितँ लाललाई हाँस्दै नाच्दै स्वदेश फकौ भन्ने आग्रह गर्छ तर लाल मान्दैन । त्यस बखत लाल आफूलाई सुन सम्झन्छ र बतासे, कान्छो तथा मित जमानलाई फलामका रूपमा लिन्छ 1 ऊ आफूलाई सुनौं मूल्यवान् ठान्छ र अरुलाई फलामझें कम मूल्यको ठान्दछ । नेपाललाई चुम्बकका रूपमा लालले अर्थ्याएको देखिन्छ 1 तसर्थ चुम्बकले फलामलाई मात्र तान्छ सुनलाई खिच्न सक्दैन भन्ने लालको आशयलाई माथिको भनाइका माध्यमबाट स्पष्ट पार्न खोजिएको छ ।

लालबहादुर विदेशमा बसेर धेरै कमाउने र सुखी जीवन व्यतीत गर्ने लालसाले विदेशी भूमिका दुःख पाइरहेको हुन्छ । उसको मित जमान, बतासे र कान्छो स्वदेशमै दुःख गरेर बस्न राजी भई फर्कन चाहन्छन् र लाललाई पनि फर्कन आग्रह गर्छन् । लाल भने आफूलाई सुन भन्दै नफर्किने कुरो गर्छ ।

(ख) जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔंला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला ।
उत्तर : प्रस्तुत भनाइ ‘घरको माया’ एकाङ्कीबाट साभार गरिएको हो । यस एकाङ्कीका रचनाकार भीमनिधि तिवारी (वि.सं. १९६८ – २०३०) हुन् । तिवारी नेपाली साहित्यका फाँटमा कवि, नाटककार, कथाकार, गजलकार, प्रबन्धकार तथा उपन्यासकारका रूपमा चिरपरिचित छन् । सामाजिक नैतिकतामा बल पुऱ्याउने खालका विषयवस्तु चयन गर्ने तिवारीका नाटकहरूमा आदर्श र यथार्थको समिश्रणमार्फत पाठकलाई सचेत बन्न प्रेरित गरिएको हुन्छ । माथिको एकाङ्कीको अंश एकाङ्कीकारको मुखपात्र बतासेको भनाइ हो । 

एकाङ्कीकारको मुखपात्रका रूपमा रहेकी बतासे विदेशमा अलपत्र परेपछि उसमा विदेशमोह भङ्ग हुन्छ । कान्छा र बतासेको भेट गाउँका जमान र लालसँग भएपछि बतासे यी दुवैमा देशभक्तिको भावना जागृत गराई स्वदेश फर्काउन चाहन्छे । विदेशमा एक गाँस खान र एकसरो लाउनकै लागि दुःख गर्नुभन्दा स्वदेशमै दुःख गर्नु राम्रो हुन्छ । जति परिश्रम गर्नुपरे पनि आफ्नै खेतबारीमा गर्नुपर्छ । विदेशीका लागि उब्जाउनुभन्दा एक गंडो मकै मात्र भए पनि आफ्नै माटोमा उब्जाउनुपर्छ । अरुको हेलाहाँसो भएर र विदेशमा लत्तिएर बस्नु स्वाभिमानीका लागि राम्रो कुरा होइन । सबैले नेपालमा काम पाएका छन् भने हामीले पनि काम पाउन सक्छौं । अरूको कमारो भएर बस्नुभन्दा लम्पसार परेर मर्नु राम्रो हो । हाम्रा पुर्खाले देशमै बसेर देशका लागि काम गरे । हामीले पनि पुर्खाको धर्म थाम्नुपर्छ भन्ने माथिको अंशमा बतासैको देशभक्तिपूर्ण भावना अभिव्यक्त गर्दै विदेश गएकालाई स्वदेश फर्कन आग्रह गरिएको छ ।

सरल, राष्ट्रभक्तिपूर्ण भाव, मार्मिक सन्देश दिएको माथिको अंश बतासेको भनाइ निकै गहन रहेको छ। यसले जमान र लाल जस्ता विदेश गएर दुःख पाएका नेपालीलाई स्वदेश फर्किएर स्वदेशकै लागि परिश्रम गर्न प्रेरित गरेको छ ।

९. ‘घरको माया’ एकाङ्कीका पात्रमा देखिएका सुख र दुःख सन्दर्भ बोध गरी त्यस्तै संवेग झल्कने छोटो संवाद तयार गर्नुहोस् ।
उत्तर : कृष्ण पौडेल र दिलबहादुर लामा एउटै गाउँका हुन् । उनीहरू धेरै कमाएर सुखी जीवन बिताउने आशामा सँगै मलेसिया पुगेका हुन्छन् । बिदाको दिन उनीहरूका बिचमाँ भएको संवाद यस्तो रहेको छ:

कृष्ण : ठुलो भाग खान आएका थियौं । खुब मिठो मानेर खाइरहेका छौं । दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले ।
दिल : बसी बसी त कसले खान दिन्छ र ! विदेश आएपछि अलि अलि दुःख त गर्नै पर्यो नि ।
कृष्ण : अँ, अलि अलि मात्र दुःख छ नि ! कम्पनीमा बसी बसी काम गर्नुपर्छ । पैसा पनि राम्रो कमाइ हुन्छ भनेर म्यानपावरले झुक्यायो नि हामौलाई । घरमा आमाबुबाले राम्ररी पढेर सरकारी जागिर खानुपर्छ । हामी जसरी पनि पढाउँछौं भनेर कति सम्झाउनुभएको थियो । पढ्नका गाहाले विदेश आएर दुःख पाइयो ।
दिल : काम गरेर अलि अलि पैसा कमाइएकै छ । राम्रो कपडा लाउन पाइएकै छ । मोबाइल बोक्न पाइएकै छ । अरू के चाहियो तिमीलाई ? गाउँमा बरालिएर आमाबुबाको गाली खाएर बस्नु चाहिँ राम्रो
कृष्ण : यो प्रचण्ड गर्मीमा घण्टौं काम गर्नुछ । त्यसमा पनि भनेजति ज्याला पाउनु छैन । बोसको गाली पनि खानुछ । यतिको मिहिनेत आफ्नै ठाउँमा गर्ने हो भने त सुन फलाउन सकिन्छ नि दिल दाजु । नेपालमा चाहिँ हामी काम नगर्ने, दिनभरि बरालिएर हिँड्ने, आमाबुबाको कमाइमा मस्ती गर्ने अनि काम हाकिमको खोज्ने ! कसरी उन्नति हुन्छ अनि ?
दिल : कुरो त तिमीले चित्त बुझ्ने गर्यो । यति मिहिनेत नेपालमै गर्ने हो भने त विदेशमा दुःख पाउनै पर्दैन । अब नेपाल गएपछि उतै काम गरिन्छ । दुवै मिलेर व्यावसायिक बाख्रापालन गरौंला हुँदैन र !
कृष्ण : भइहाल्छ नि । अगाडि नै यही बु‌द्धि आएको भए विदेशमा यो दुःख पाउनै पर्दैनथ्यो । ल, अब खाना खाऊँ । (दुवै खाना खान थाल्छन् ।)

१०. ‘घरको माया’ एकाङ्कीमा कसरी देश प्रेमको भावना प्रकट भएको छ ? समीक्षा गर्नुहोस् ।
उत्तर : नाटककार भीमनिधि तिवारी (वि.सं. १९६८ – २०३०) द्वारा रचिएको ‘घरको माया’ एकाङ्की सामाजिक विषयवस्तुमा आधारित उत्कृष्ट एकाङ्की हो । वि.सं. २०१७ मा ‘विस्फोट’ कवितासङ्ग्रहका लागि मदन पुरस्कार प्राप्त गरेका तिवारीका ‘सहनशीला सुशीला’, ‘शिलान्यास’, ‘चौतारा लक्ष्मीनारायण’, ‘काशीवास’, ‘यशस्वी शव’ आदि चर्चित नाटकहरू हुन् । सामाजिक नैतिकतामा बल पुऱ्याउने खालका विषयवस्तु चयन गर्ने तिवारीका नाटकहरूमा आदर्श र यथार्थको समिश्रणमार्फत पाठकलाई सचेत बन्न प्रेरित गरिएको हुन्छ । तिवारीले नेपालबाहिर विदेशी भूमिमा केही गाउँलेहरुलाई भेला गराएर तिनीहरूका बिच संवाद गराएका छन् । एकाङ्कीमा एकाङ्कीकार तिवारीले मूलतः देशभक्तिको भावनालाई व्यक्त गरेका छन् । 

‘घरको माया’ एउटा ज्यादै संवेदनशील विषयमा आधारित स्तरीय एकाङ्की हो । आफ्नो प्यारो जन्मभूमिलाई औधी माया गर्ने भीमनिधि तिवारीले नेपालबाहिर विदेशी भूमिमा केही गाउँलेहरूलाई भेला गराएर तिनीहरूका बिच संवाद गराएका छन् । जमानको संवादमा सुरुदेखि नै आफ्नै ठाउँको मायाममता देखिएको छ । बतासेसँग भेट हुनुभन्दा अगाडि उसले विभिन्न सन्दर्भबाट गाउँको सम्झना मात्र गरेको छैन, विदेशभन्दा स्वदेश नै ठिक भन्ने भाँव अभिव्यक्त गरेको छ।

अर्कोतर्फ बतासेका माध्यमबाट एकाङ्कीमा जमानसिंह र लालबहादुरको स्वदेश नफर्किने र विदेशमै कमाएर उतै मर्ने इच्छालाई परिवर्तन गराई आफ्नै गाउँ र ठाउँको ममता जागृत गराइएको छ । आफ्नै माटोमा पसिना बगाएर आफ्नै माटोमा उब्जाउनुपर्छ । खानका लागि नोकरी गर्नु परे आफ्नै दाजुभाइको गर्नुपर्छ । विदेशमा कमारो भएर हेलामा बस्नुभन्दा आफ्नै भुइँमा लम्पसार पर्नुपर्छ । बाबुबाजेले अन्तिम साससम्म स्वदेशकै लागि काम गरे । स्वदेशमै बिताए । हामीले पनि स्वदेशकै लागि केही गर्नुपर्छ, स्वदेशकै लागि मर्नुपर्छ । आफ्नै देशलाई हामीले हराभरा, सुन्दर र विकसित बनाउनुपर्छ भन्ने भावलाई एकाङ्कीकारले बतासेका माध्यमबाट अभिव्यक्त गरेका छन् । यसरी सरल, प्रभावकारी र मञ्चनीय एकाङ्की ‘घरको माया’ मा एकाङ्कीकारले बतासे पात्रका माध्यमबाट विदेशमा दुःख गर्नुभन्दा त्यो दुःख नेपालमा नै गर्न सके देशलाई सुन्दर बनाउन सकिने भाव अभिव्यक्त गरेका छन् । यसका साथै विदेश गएकालाई स्वदेश फर्किएर स्वदेशको लागि काम गर्नसमेत आग्रह गरेका छन् ।

११. दिइएको चित्र वर्णन गर्नुहोस् :

चित्र

उत्तर : चित्रमा एउटा सुन्दर ग्रामीण बस्ती देखाइएको छ । उक्त गाउँमा चौतारोलगायतका सार्वजनिक स्थल पनि रहेका छन् । गाउँका मानिस चौतारीमा जम्मा भएर गाउँको विकासका बारेमा छलफल गर्छन् । केही समस्या आयो भने पनि त्यहीं जम्मा भएर छलफल गरी निष्कर्षमा पुग्छन् । छलफलमा महिला, पुरुष सबै जना समान रूपमा सहभागी हुन्छन् । लोकतान्त्रिक पद्धतिको अनुसरण गरी छलफल गर्छन् ।

१२. युवालाई विदेसिनबाट रोक्न के गर्नुपर्ला ? ‘घरको माया’ एकाङ्कीका आधारमा प्रतिक्रिया दिनुहोस् ।
उत्तर : भीमनिधि तिवारीद्वारा रचना गरिएको ‘घरको माया’ एकाङ्की देशप्रेमका भावना अभिव्यक्त गरिएको एकाङ्की हो । विदेशी भूमिमा केही नेपालीलाई उपस्थित गराएर एकाङ्कीकारले विदेशमा गर्ने दुःख नेपालमै गर्न सके स्वदेशको गौरव बढाउन मदत पुग्ने र अरुको कमारो भएर बस्नु नपर्ने कुरा बतासेका माध्यमबाट अभिव्यक्त भएको छ । बतासे जस्तै विदेशका दुःख स्पष्ट बनाएर स्वदेशमै बस्न अभिप्रेरित गर्ने व्यक्तिहरू भएमा युवालाई विदेसिनबाट रोक्न सकिन्छ ।

नेपालमा अहिले हरेक युवालाई विदेश मोह देखाइएको छ । आमाबुबा आफ्ना छोराछोरीलाई राम्ररी पढे विकसित मुलुकमा गएर सुख पाउने सपना देखाइरहेका छन् । छोराछोरी विदेश जानुलाई उनीहरू गर्वको विषय ठान्छन् । शिक्षक पनि राम्ररी पढे अमेरिका युरोप गई सुख पाउन सकिने शिक्षा प्रदान गरिहेका छन् । मौका मिल्ने बित्तिकै स्वयम् विदेश हानिएका छन् । नेताहरू बढीभन्दा बढी युवा विदेसिने अवस्थाको सिर्जना होस् भन्नेतर्फ लागिपरेका छन् । नेपाललाई असफल बनाउन र लुट्नमा मस्त छन् । तसर्थ युवालाई स्वदेशमै रोकी विदेसिन नदिन सकारात्मक सोच भएको, सबैका लागि प्रेरणाका स्रोत बन्न सक्ने र इमानदारिताका साथ देश र जनताको पक्षमा काम गर्न सक्ने बालेन हर्क जस्ता नेतृत्वको चयन गर्नु अत्यावश्यक भएको छ ।

१३. दिइएका अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) प्रश्नहरू

(अ) गुर्जोलाई लहरेदार पतझर बिरुवा मान्नुको कारण के हो ?
उत्तर : गर्मी ठाउँमा पाइने तथा लहरा मोटो र गुदीदार हुने भएकाले गुर्जोलाई लहरेदार पतझर बिरुवा मानिएको हो।

(आ) गुर्जो कस्तो भूभागमा पाइन्छ ?
उत्तर : गुर्जो जस्तोसुकै माटामा हुर्कन सक्ने भए पनि यो विशेष गरी गर्मी भूभागमा पाइन्छ ।

(इ) गुर्जोको उपयोगिता लेख्नुहोस् ।
उत्तर : गुर्जो कमलपित्त, दम, खोकी, मधुमेह तथा पुरानो ज्वरो आदि रोगमा यसको उपयोगिता रहेको छ ।

(ई) गुर्जोका बिरुवा तयार पार्ने तरिका के के हुन् ?
उत्तर : गुर्जोको बिरुवा तयार पार्ने तरिका कलमी र बिउ हुन् । 

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :

(अ) अनुच्छेदमा प्रयोग भएको एउटा करण वाक्य टिपी अकरणमा वाक्यान्तरण गर्नुहोस् ।
उत्तर : गुर्जो लहरेदार पतझर बिरुवा हो । गुर्जो लहरेदार पतझर बिरुवा होइन ।

(आ) ‘डॉठको कलमीबाट नै यसका बिरुवा तयार गरिन्छन् ।’ वाक्यलाई भूत र भविष्यत् कालमा वाक्यान्तरण गर्नुहोस् ।
उत्तर : डाँठको कलमीबाट नै यसका बिरुवा तयार पारिए । (भूतकाल), डाँठको कलमीबाट नै यसका बिरुवा तयार पारिने छन् । (भविष्यत् काल)

(इ) अनुच्छेदबाट चन्द्रबिन्दु प्रयोग भएका दुईओटा शब्द टिप्नुहोस् ।
उत्तर : चन्द्रबिन्दु प्रयोग भएका दुईओटा शब्द : आँख्ला, हाँगा।

भाषिक संरचना र वर्णविन्यास

२. कोष्ठकमा दिइएको निर्देशनअनुसार वाक्यान्तरण गर्नुहोस् :

(क) बहिनी बिहानै उछिन् । उनी नृत्य सिक्न बजारसम्म पुग्छिन् । आमाले एक महिनादेखि यस तालिम केन्द्रमा भर्ना गरिदिनुभएको छ । उनले यो कुरा खुसी हुँदै ठुली माइजूलाई सुनाइन् । (लिङ्ग)

उत्तर : भाइ बिहानै उठ्छन् । उनी नृत्य सिक्न बजारसम्म पुग्छन् । बुबाले एक महिनादेखि यस तालिम केन्द्रमा भर्ना गरिदिनुभएको छ । उनले यो कुरा खुसी हुँदै ठुलो मामालाई सुनाए ।

(ख) उनीहरू सँगसँगै घर फर्के । उनीहरूले घर आउँदा गाउँलेका लागि कोसेली पनि किने । मोटा मान्छेका लागि भनेर चिनी नभएको मिठाई झोलामा राखे । घर पुग्नै लाग्दा उनीहरूलाई सेता पहाडले स्वागत गर्न लागे झैँ आभास भएछ । (वचन)

उत्तर : उनी सँगसँगै घर फर्के । उनले घर आउँदा गाउँलेका लागि कोसेली पनि किने । मोटो मान्छेको लागि भनेर चिनी नभएको मिठाई झोलामा राखे । घर पुग्नै लाग्दा उनलाई सेता पहाडले स्वागत गर्न लागे झैँ आभास भएछ।

(ग) म कर्मशील हुन नेपाल आएँ । आफ्नै बारीमा पसिना बगाउन थालें । मिहिनेतको कारण मैले रामै कमाइ गरें । घरखर्च बाहेकको आम्दानीलाई बैंकमा लगेर जम्मा गरें । (द्वितीय पुरुष)

उत्तर : तँ कर्मशील हुन नेपाल आइस् । आफ्नै बारीमा पसिना बगाउन थालिस् । मिहिनेतको कारण तैंले रामै कमाइ गरिस् । घरखर्चबाहेकको आम्दानीलाई बैङ्कमा लगेर जम्मा गरिस् ।

(घ) तँ आफ्नो काम आफैं गर । त आफ्नो काम अरुलाई नलगा। तँ स्वावलम्बीबन् । तं देशलाई योगदान गर (उच्च आदर)

उत्तर : तपाइँ आफ्नो काम आफै गर्नुहोस् । तपाइँ आफ्नो काम अरुलाई नलगाउनुहोस् । तपाइँ स्वावलम्बी बन्नुहोस् । तपाइँ देशलाई योगदान गर्नुहोस् । 

(ङ) आमा सखारै उठ्ती हुन्, जाँतामा कोदो पिन्दी हुन्, बुबा रातमा मेलाबाट आएर अगेनाको छेउमा बसेर काँचोपात भुटेको तमाखु सोतेमा खाँदा हुन्, त्यही त हो न । (अभ्यस्त पक्ष)

उत्तर : आमा सखारै उ‌ड्थिन्, जाँतामा कोदो पिन्थिन्, बुबा रातमा मेलाबाट आएर अगेना छेउमा बसेर काँचोपात भुटेको तमाखु सोतेमा खाँन्थे, त्यही त हो नि ।

३. ‘घरको माया’ एकाङ्कीबाट फरक फरक काल र पक्षका दुई दुई ओटा वाक्य टिपी तिनलाई करण भए अकरण र अकरण भए करणमा रूपान्तरण गर्नुहोस् ।

– म त सम्झन्न ।

= म त सम्झन्छु ।

आमा सखारै उठ्दी हुन् ।

= आमा सखारै नउठ्दी हुन् ।

मिठो कुरा चपाउँदै गए ।

= मिठो कुरा चपाउँदै गएनन् ।

बतासेलाई बराबर सम्झिरहन्छु ।

= बतासेलाई बराबर सम्झिरहन्न ।

४. दिइएको अनुच्छेद पढी चन्द्रबिन्दु र शिरबिन्दु प्रयोग भएका शब्द टिपी तिनको उच्चारण गर्नुहोस् :

चन्द्रबिन्दु प्रयोग भएका शब्द : घाँस, उनीसँगै, त्यहाँ, गएँ ।

शिरबिन्दु प्रयोग भएका शब्द : संयोग, संहिता, संहृत्, संरचना

५. ‘घरको माया’ एकाङ्कीबाट चन्द्रबिन्दु र शिरबिन्दु प्रयोग भएका शब्द खोजेर छुट्टाछुट्टै सूची बनाउनुहोस् ।

उत्तर : ‘घरको माया’ एकाङ्कीबाट चन्द्रबिन्दु प्रयोग भएका शब्द :

जाऔं, हाँस्तै, गाँस्तै, तपाईं, जान्नँ, आएँ, साँझ, फर्काउँछ, रोपाइँ, भएँ, जाऊँ, भेटौंला, ठाउँ, सुतौला, गनाउँदैनथ्यो, हिँड, भुइँ, गाउँ, कहाँ, ढिँडो, रौं, चाहिँ, काँगियो, उँभो, तँ, नाइँ, साँचो, आँगन, पिँढी, जाँता, जहाँ, काँचो, फाँट, आँत, घाँटी, भैंसी, छाँट, बाँकटे, जुगा

‘घरको माया- एकाङ्कीबाट शिरबिन्दु प्रयोग भएका शब्द : जमानसिंह, हंस,

६. दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :

उत्तर : संयोग भोलि आउला । संविधानको पुस्तक ल्याउला । म त्यो पुस्तक पहुँला । मैले देशको कानुन जान्नुपर्छ । कानुनअनुसार हामी सबै चल्यौं भने मात्र मुलुक बन्छ ।

सुनाइ र बोलाइ 

१. सुनाइ पाठ १४ सुन्नुहोस् र दिइएका खाली ठाउँ मर्नुहोस् :

(क) सङ्गीतले माबन हृदयलाई आह्लादित तुल्याउंछ ।
(ख) तीमध्ये नौमती बाजा नेपाली समाजमा बढी प्रचलित बाजा हो।
(ग) समाजका हरेक खुसियालीमा यस किसिमका बाजा बजाइने गरिन्छ ।
(घ) काठबाट निर्मित त्यस्ता बाद्यवादनमा हाम्रा नेपालीको सिप पोखिएको हुन्छ । 

सुनाइ पाठ १४ का आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) सङ्गीत भनेको के हो ?
उत्तर : नृत्य, गीत र बाद्यवादनको मेल नै सङ्गीत हो । 

(ख) सङ्गीतका दुई भाग कुन कुन हुन् ?
उत्तर : सङ्गीतका दुई भाग पूर्वीय र पाश्चात्य हुन् । 

(ग) नौमती बाजामा के के पर्छन् ?
उत्तर: नौमती बाजामा सनही दुईओटा, दमाहा दुईओटा, ट्याम्को, कर्नाल, भवाम्टा, नरसिंगा, ढोलक एक एकओटा गरी नौओटा पर्छन्। 

(घ) नौमती बाजा कस्तो अवसरमा बजाइन्छ ?
उत्तरः नौमती बाजा समाजका हरेक खुसियालीका अवसरमा बजाइन्छ । 

सिर्जना र परियोजना कार्य

१. कुनै एउटा ऐतिहासिक घटनालाई विषयवस्तु बनाएर संवाद लेख्नुहोस् ।

(सीता र गीता कक्षा १० का विद्यार्थी हुन् । हिजो गीता विरामी भएर विद्यालय आउन पाइनन् ।

कक्षामा सरले के पढाउनु भयो भनेर सिता र गीता कुरा गर्दै विद्यालय जाँदै छन् ।

सीता : हिजो हामीलाई सरले कति रमाइलो गरी रानीपोखरीको बारेमा भन्नुभयो । तिमी

नजाएर त रमाइलो नै भएन ।

गीता : म नआएर के भयो त, के के पढाउनुभयो तिमी नभन न !

सीता : मैले त धेरै जसो बिसीसकेकी ।

गीता : अनि तिमीले त रमाइलो छ, सबै आउँछ भनेको होइन र

सीता : हो ! हुन त ……

गीता : रानी पोखरीलाई अरु के के पनि भनिन्छ रे हो ?

सीता :  यसको अर्को नाम न्हू पुखू वा लानि पुखू हो अनि यो एक मानव निर्मित पोखरी हो ।

जुन काठमाडौँमा छ

गीता : यसको वरिपरी के के छन् नि ?

सीता : यो पोखरीको पूर्वमा राणा प्रधानमन्त्री श्री वीर शमशेर राणाले बताएको बण्टावर, राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर राणाले बनाएको त्रिचन्द्र कलेज छ भने पश्चिममा नेपालकै सबै भन्दा पुरानो विद्यालय दरबार हाईस्कूल रहेको छ । त्यस्तै उत्तरमा विश्वज्योती सिनेमाघर छ भने दक्षिणमा रत्न पार्क छ, र १६ हाते गणेशको मुर्ती छ ।

गीता : पोखरीभित्र चाहिँ के के छन् नि ?

सीता : रानीपोखरीलाई वरीपरी फलामको बारले वारिएको छ र बार भित्र ठूलो हाली र त्यस माथि राजा प्रतापमल्ल, रानी र छोराको शालिक स्थापित गरिएको छ । रानी पोखरीको बिचमा बालगोपाल महादेवको मन्दिर पनि छ ।

गीता : यो मन्दिर तिहारको भाइटीकाको दिनमा मात्रै खुल्ला हुन्छ होइन र यस्तो चाहि किन गरिइएको होला है ?

सीता : हो नि । धेरै मान्छेले त्यहाँ आत्महत्या गरेका हुनाले यसो गरिइएको रे !

गीता : रानीपोखरीलाई कसले कहिले र किन निर्माण गरेको पनि भनिदेऊ त?

सीता : राजा प्रताप मल्लले आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले ई.सं. १६६५ मा निर्माण गरेका हुन् । पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहितेन्द्र र चक्रवर्तेन्द्रको शालिक पनि राजा प्रताप मल्लले नै निर्माण गराएका थिए ।

गीता : यो पोखरीमा भूकम्पले क्षति भएको थियो कि थिएन ?

सीता : भएको थियो नि, वि.सं. २०७२ साल वैशाख १२ गतेको ७८ रेक्टरको विनाशकारी भुकम्पमा मन्दिरको गजुर सहित मन्दिर क्षति भएको थियो । भुकम्प गएको एक वर्षको अवसर पारी २०७३ वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माण कार्यको शिलन्यास गर्नु भएको थियो। अहिले पुनःनिर्माण कार्य सकिएर २०७३ साल कार्तिकमा यसको उद्घाटन कार्य सम्पन्न भएको छ ।

गीता : यो पुनः निर्माण गर्दा के के परिवर्तन भयो त ?

सिता: काठमाडौँ महानगरपालिकाले आधुनिक शैली अनुसार पुनःनिर्माण गर्ने योजना बनाएको त थियो तर पछि समुदायबाट विरोध भएको हो । फलत सन् २०२०मा रानी पोखरी परम्परागत शैलीमा पुनःनिर्माण भयो । पोखरी बीचको बालगोपालेश्वर मन्दिर यस पुनःनिर्माणमा मल्लकालीन ग्रन्थकुट शैलीमै बनाइएको छ ।

गीता : ए. ए. विद्यालय आयो अब बांकी खाजा खाने बेलामा भन ल ।

सिता : ल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *